
पोखरा, २१ कात्तिक। सरूभक्त केन्द्रद्वारा शनिबार पाेखरामा आयोजित एक विशेष समारोहका बीच बाल अधिकार अभियन्ता प्रेन्सा रेग्मीलाई ‘सरूभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३’ अर्पण गरिएको छ।
पोखरा उद्योग वाणिज्य सङ्घ, गैह्रापाटनस्थित अमृत कक्षमा शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो। पुरस्कार राशी नगद ५० हजार र सम्मान पत्र रहेकाे छ ।
मेयर आचार्यले भन्नुभयाे, “बालबालिकाको रुचि र क्षमता अनुसार उनीहरूलाई अघि बढ्न दिनुपर्छ। अभिभावकले आफ्ना इच्छा लाद्ने होइन, बालबालिकाको भावना र प्रतिभालाई बुझेर प्रोत्साहन गर्नुपर्छ।”
कार्यक्रमका मुख्य आकर्षणहरू:
- मेयर आचार्यको स्मरण: कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर धनराज आचार्यले प्रेन्सा रेग्मी पोखरा मात्र नभई सिङ्गो देशकै गौरव भएको बताउनुभयो। साढे चार वर्षअघि स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा प्रिन्सासँग भएको टेलिफोन संवादको स्मरण गर्दै उहाँले भन्नुभयो, “त्यतिबेला ८–९ वर्षकी सानी नानीले मलाई फोन गरेर पोखराको विकास, बालबालिकाको अधिकार र मेरो एजेण्डाका विषयमा गरेको संवादले मलाई निकै प्रभावित पारेको थियो।”
- अभिभावकहरूका लागि प्रेरणा: मेयर आचार्यले धेरैजसो अभिभावकले आफ्ना अपेक्षाहरू बालबालिकामाथि लाद्ने गरेको टिप्पणी गर्दै प्रेन्साका बाबुआमाले जस्तै सबै अभिभावकले सन्ततिहरूको अन्तर्निहित प्रतिभा र भावनाको कदर गर्नुपर्नेमा जोड दिनुभयो।
- पर्यटन र पूर्वाधार विकास: सो अवसरमा पोखरा महानगरपालिका धार्मिक र सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा दृढताका साथ लागिपरेको उहाँले जानकारी दिनुभयो। पोखराको वडा नं. १४ र २१/३३ को सङ्गमस्थल (वात्स्यायन बृद्धाश्रम) मा स्वामी नारायणको ‘अक्षरधाम’ निर्माणका लागि पहल भइरहेको बताउँदै यसले यहाँको पर्यटनमा नयाँ र दूरगामी आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा पुरस्कृत प्रेन्साले सरूभक्त केन्द्रबाट पुरस्कार पाउनु गन्तव्य नभइ सुरूवात भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, म मेले देखेकाे सपना, समाज सेवा र परिवर्तनका लागि लागिरहन्छु ।
समाराेहमा पुरस्कार छनौट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले प्रेन्साकाे बारेमा बाेल्दै सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाएको सक्रियता, मानवीय संवेदना तथा पछाडि परेका समुदायको हितमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई यो पुरस्कारका लागि छनौट गरिएको बताउनु भयाे ।
बालप्रतिभा केवल कला, साहित्य वा खेलकुदमा मात्र सीमित नभई सामाजिक चेतना र समाज रूपान्तरणप्रतिको प्रतिबद्धतामा पनि झल्किन्छ भन्ने मान्यतालाई यो छनौटले आत्मसात् गरेको डा. अधिकारीले बताउनु भयाे ।
प्रेन्साले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउँदै हिंसामुक्त विद्यालय तथा समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे बताउदै बालबालिकालाई सकारात्मक सोच र सामाजिक जिम्मेवारीप्रति प्रेरित गर्ने अभियानमा उहाँको योगदान प्रशंसनीय रहेकाे बताउनु भयाे ।
वि.सं. २०६९ साल फागुन ६ गते म्याग्दीको मंगला गाउँपालिका–७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा–११, फूलबारीमा बसोबास गर्दै आउनु भएकाे छ । उहाँ हाल गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय प्रेन्साले समुदायमा देखिएका विभिन्न सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि उल्लेखनीय प्रयास गर्दै आउनु भएकाे छ ।
कोभिड–१९ काे महामारीकाे बेलामा उहाँले मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र आवश्यकतामा परेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउनेजस्ता मानवीय कार्य गर्नुभएकाे थियाे ।
साे अवसरमा केन्द्रका संरक्षक सरूभक्त, गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति कुसुमाकर न्याैपाने, पाेखरा प्रज्ञाप्रतिष्ठानकी कुलपित सरस्वती प्रतिक्षा, पशुपती क्षेत्र विकास काेषका सदस्यसचिव तीर्थ श्रेष्ठ, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधिर घर्ति पाैडेले सम्मानित बालप्रतिभा प्रेन्सा रेग्मीको उत्तरोत्तर प्रगतिको कामना गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
सरूभक्त केन्द्रका सचिव उपेन्द्र पाैडेलले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता केन्द्रका अध्यक्ष महेन्द्र
श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




