नाडेप लघुवित्त वित्तीय संस्थाकाे कर्जा ब्यवस्थापन तालिम तथा समिक्षा गोष्ठी सम्पन्न

-



     सफल आवाज    
     मंसिर ९ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको भाखा नाघेको कर्जा ब्यवस्थापन तालिम तथा समीक्षा गोष्ठी सम्पन्न गरेकाे छ । कास्कीकाे पोखरामा मंगलबार सम्पन्न उक्त तालिममा पोखरा इलाका कार्यालयका ११ जना शाखा प्रमुखहरुको सहभागिता रहेकाे संस्थाका कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा संस्थाको पोखरा इलाकाको ११ वटै शाखाका शाखा प्रवन्धकहरुले २०८३ कात्तिक मसान्तसम्मको कार्य प्रगति पेश गरेका थिए । संस्थाका वरिष्ठ प्रमुख ब्यवस्थापक उमेश कुर्मी, प्रमुख ब्यवस्थापक बाबुराम सुवेदी, वरिष्ठ अधिकृत हरि बहादुर पण्डित, पोखरा इलाकाका इलाका प्रमुख बलराम पौडेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

तालिममा सहभागीहरुले भाखा नाघेको कर्जा ब्यवस्थापन तथा नियन्त्रण, शाखा प्रमुखहरुको भूमिका तथा जिम्मेवारी, प्रभावकारी ग्राहक सम्बन्ध, अन्तर्वैयक्तिक सम्बन्ध, कर्जा विश्लेषण, असल परियोजना छनौट गर्दा ध्यान दिनुपर्ने कुुराहरु आदि विषयहरुमा सहभागीहरुले जानकारी हासिल गरेका थिए । कार्यक्रममा देखिएका समस्या तथा चुनौतीहरु, निष्कृय कर्जा आदि विषयहरुमा समेत छलफल भएको थियो ।

तालिममा सहभागीहरुलाई संस्थाका सामान्य सेवा तथा कार्य सञ्चालन विभाग प्रमुख हरि बहादुर पण्डितले स्वागत गरेका थिए भने कार्यक्रमको उद्देश्य बारेमा संस्थाका जनशक्ति ब्यवस्थापन विभाग प्रमुख, कम्पनी सचिव बाबुराम सुवदीले गरेका थिए ।

गोष्ठी तथा तालिमको समापनको अवसरमा सहभागीहरुको तर्फबाट देवचुली शाखाका शाखा प्रमुख रवि बहादुर पण्डित र माडी शाखाका शाखा प्रमुख रामकृष्ण खतिवडाले तालिमको मूल्याकंन गरेका थिए । तालिमको समापन संस्थाका वरिष्ठ प्रमुख ब्यवस्थापक उमेश कुर्मीले गरेका थिए । कार्यक्रमको संचालन संस्थाको पोखरा इलाका प्रमुख बलराम पौडेलले गरेका थिए ।

२०५२ सालमा स्थापित संस्थाले ५६ जिल्लामा ८८ शाखा कार्यालयहरु स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेको छ । २०८३ कात्तिक मसान्तसम्ममा करिब ७६,२७९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५१ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत २ अर्ब ४४ करोड परिचालन गरेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पवन श्रेष्ठले बताए ।