
लमजुङ, ५ फागुन । लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि २०६६÷७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।
नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने “हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब रु चार करोड खर्च भएको छ ।’’
नगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा ०.९९ किलोमिटर सडक अर्थात सात सडक कालोपत्र सम्पन्न भएको थियो । त्यस्तै आव २०७५÷७६ मा १.४७ किलोमिटर अर्थात् १४ सडक र आव २०७४÷७५ मा १.५ किलोमिटर अर्थात् आठ सडक कालोपत्र सम्पन्न भएको थियो । कालोपत्र सम्पन्न गरेकामध्ये आव २०७६÷७७ मा रु ४३ लाख ९७ हजार ८६१ आव २०७५÷७६ मा रु एक करोड ६३ लाख ८३ हजार ३१४ र आव २०७४÷७५ मा रु एक करोड ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि बेँसीशहर बजारका शाखा सडक ६०÷४० को लागत साझेदारीमा कालोपत्र गरिएका हुन् ।
सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन् । केही सडकको निर्माण कार्य अघि बढिरहेको छ । नगरपालिकाले यस चालू आवमा नगरको विभिन्न स्थानका पाँच सडक कालोपत्र गर्न लागेको छ । यसका लागि चालू आवमा नगरपालिकाले रु ५४ लाख ९८ हजार ३६९ विनियोजित गरेको छ । नगरपालिकाले नगरभित्रका सबै गाउँमा सडक सञ्जालले जोड्न लागेको छ ।








काठमाडौं, ५ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी…
चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति… 




