
काठमाडौं, २७ फागुन । सरकारले आफ्ना समान तीन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति पदमा असमान मापदण्डका आधारमा आवेदन माग गरेको छ ।
स्वास्थ्य मन्त्रालय आवद्ध सार्वजानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३ का आधारमा पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवेदन माग गरेको हो ।
मन्त्रालयले फागुन २४ मा सूचना प्रकाशित गरी ती तीन प्रतिष्ठानका रिक्त पदमा सात दिनभित्र निवेदन दिन आह्वान गरेको छ । निवेदनका साथमा मन्त्रालयले आफ्नो व्यावसायिक कार्ययोजनासमेत पेश गर्न भनेको छ ।
मापदण्ड अनुसार पाटन र पोखराका उपकुलपतिका लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नाकोत्तर प्राप्त गरी प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा ११आँै तहमा काम गरेको हुनुपर्ने प्राबधान रहेको छ । यसैगरी कर्णालीका लागि भने मापदण्डभित्र ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नाकोत्तर प्राप्त गरी सहप्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा कम्तीमा १०आँै तहमा काम गरेको हुनुपर्ने छ ।
समान प्रतिष्ठानका समान पदका लागि असमान मापदण्डका आधारमा उपकुलपतिजस्तो उच्च गरिमामय पदमा आवेदन माग गरिएकामा सरोकार निकायले आपत्ति जनाउँदै समान मापदण्ड बनाउन मागसमेत गरेका छन्् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत वरिष्ठ चिकित्सकले अन्य प्रतिष्ठानसरह कर्णालीलाई व्यवहार गर्न सरकारलाई आह्वान गरेका छन् ।
शैक्षिक कार्यक्रम सञ्चालन, सिट निर्धारण, पूर्वाधार विकास, बजेट विनियोजन, अस्पतालका स्तोन्नतिलगायतका क्षेत्रमा कर्णालीलाई सङ्घीय सरकारले विभेद गर्दै आएको उनीहरुको गुनासो छ । स्वास्थ्य प्रतिष्ठान तथा क्षेत्रीय अस्पताल सङ्घीय सरकारअन्तर्गत रहने प्राबधान छ ।
पहिलोपटक मन्त्रालयले सोही मापदण्डका आधारमा विसं २०७३ फागुनमा ती प्रतिष्ठानका ती पदमा नियुक्ति गरेको थियो । यही फागुन १५ मा चारवर्षे कार्यकाल पूरा गरेका निवर्तनमान उपकुलपतित्रय क्रमशः पाटनका डा भरतकुमार यादव, पोखराका प्राडा बुद्धिबहादुर थापा र कर्णालीका डा राजेन्द्रराज वाग्ले चिकित्साशास्त्रका अब्बल प्राध्यापक हुन्।
यसैबीच मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपति पदको जिम्मेवारी सहप्राध्यापक डा मङ्गल रावललाई दिएको छ।
प्रतिष्ठानहरुका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको अध्यक्षतामा गठन भएको सर्च कमिटीले तीन जनाको नाम प्रतिष्ठानको कुलपति प्रधामनमन्त्रीसमक्ष सिफारिस गर्ने छ । प्रतिष्ठानका सहकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिले प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गर्ने प्रावधान रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




