भारतमा कोरोना संक्रमित बढेपछि नेपालमा सतर्क रहन आग्रह

-



     सफल आवाज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ चैत । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

प्रवक्ता डा जागेश्वर गौतमले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन् । नेपालमा समेत संक्रमण बढ्न सक्ने भएकाले उनले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरे ।

मन्त्रालयले विज्ञप्ति निकालेर सामाजिक, भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोग लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस महामारीविरुद्ध सचेतना अपनाउन गत वर्ष चैत ११ देखि लकडाउन गरिएको थियो ।