कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन, “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” मा प्राथमिकता

-



     सफल आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



वासिङ्टन, १६ बैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं “बिर्सिएका” अमेरिकी श्रमिक वर्गलाई पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक परेको बताए।

कोभिड–१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसा गर्दै कङ्ग्रेसमा राष्ट्रपति बाइडेनले अमेरिकी जनतामा आत्मविश्वास जागृत भएको बताए। उनले भने, “अमेरिका अब पाइला चाल्न पूरै तम्तयार अवस्थामा पुगेको छ । हामी काम गर्न समर्थ भएका छौं, सपना देख्न थालेका छौं, अन्वेषण र खोजमा अघि बढिसकेका छौं, र विश्वलाई नै नेतृत्व दिन तयार भइसकेका छौं ।”

राष्ट्रपतिको कार्यभार सम्हालेको १०० दिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले अमेरिकी इतिहासमै खोप अभियानमा सफल उपलब्धि हासिल भएको बताए। उनले अहिलेको राष्ट्रिय प्रयत्नलाई देशको अर्थतन्त्र पुनर्निर्माण गर्ने तथा दोस्रो विश्वयुद्ध देखिकै सर्वाधिक ठूलो विषय बनेको रोजगारी योजनामा रहेका विमतिलाई हटाएर समानतामा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ भने ।

राष्ट्रपति बाइडेनले पूर्ववर्ती डोनाल्ड ट्रम्पले भनेझैं अमेरिकी श्रमिक वर्गलाई बेवास्ता गरिएको बताए । उनले माथिल्लो एक प्रतिशत निकै धनी भएको बताउँदै अमेरिकी श्रमिकलाई पनि एउटा अवसर सिर्जना गर्न आफूले योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरे ।