बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित



नेपालगञ्ज, १८ वैशाख। बाँके जिल्लामा शुक्रबार राति ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना रहेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ः०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो।

नेपालगञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे मृत्यु भएको छ । वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो।

नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर गरिएको थियो । शुक्रवार राति १० बजे उनको मृत्यु भएको छ । नेपालगञ्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ।

वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको शनिवार बिहान ४ बजे मृत्य भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । राति साढे १२ बजे उनको मृत्यु भएको छ।

दाङको दगीशरण गाँउपालिका–१ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो । उनको शनिवार बिहान ४ बजे मृत्यु भएको छ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ।