मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

-



     सफल आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



महोत्तरी, २० वैशाख । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको दर अत्यधिक वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।