गण्डकीमा थप ११ कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



पोखरा, २८ वैशाख । गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सो सहित प्रदेशमा कुल २ सय ८७ जनाको कोभिड–१९ का कारण ज्यान गएको जनाएको छ ।

मृत्यु हुनेमा कास्कीका ६ जना, रुपन्देहीका २, स्याङ्जा, म्याग्दी र तनहुँका १÷१ जना छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १७ का ८४ वर्षीय पुरुषको गएराति, स्याङ्जाको भीरकोट १ का ६८ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा सोमबार नै तनहुँको व्यास १ की ५७ वर्षीया महिला र पोखरा १६ की ६० वर्षीया महिलाको मृत्यु भयो ।

मणिपाल शिक्षण अस्पतालमा रुपन्देहीको बुटवल ११ की ५५ वर्षीया महिला र पोखरा ८ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भयो । मणिपालमै गएराति म्याग्दीको बेनी ९ की ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा गएराति मृत्यु भयो भने होम हाइसोलेसनमै पोखरा २१ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ ।

गण्डकी मेडिकल कलेजमा गएराति पोखरा ६ की एक महिलाको मृत्यु भयो ।
रुपन्देहीको सैनामैना १ का ४० वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मंगलबार बिहान मृत्यु भएको छ ।