१५ दिने हिमालयन सिद्ध महायोगानुष्ठान हुँदै, कोरोनाबाट जाेगिन उपाय सिकाइने

-



     सफल आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ८ जेठ । जगतगुरु रामानन्दाचार्य सेवापीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानकाे आयाेजनामा हिमालयन सिद्ध महायोगानुष्ठानले जेठ १२ देखि १५ दिने सिद्ध महायोग अनुष्ठान आयोजना गर्ने भएको छ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट नागरिककाे मुक्तिका लागि याे सिद्ध महायोग अनुष्ठान आयोजना गर्न लागिएकाे बताइएकाे छ।

शनिबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोना हटाउने उपाय सिकाउने लक्ष्य सहित याे अनुष्ठान आयोजना गर्न लागिएको जानकारी दिइएकाे छ।

कार्यक्रममा महायोगी सिद्धबाबाले ताेकिएकाे सात्विक आहार र यौगिक दिनचर्याले एकान्तवासमा रहेर १५ दिन साधना गरेपछि कोरोनाजस्ता भाइरसबाट मुक्त भइने उनको विश्वास छ । साधना दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म हुनेछ।

प्राचीनकालमा वन जङ्गलमा बसी ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि उपयुक्त भनी शुरु भएकाे आयुर्बेदिक पद्धति नै अहिलेको महामारीको अन्त्य गर्न सहयाेग पुग्ने महायोगी सिद्धबाबाको दाबी छ।

कार्यक्रममा पीठका अध्यक्ष गणेश सुब्बा, प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित, पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारीलगायतले कोरोनाबाट बच्न प्राकृतिक, आयुर्वेदिक र सात्विक जीवनचर्यामै फर्कनुपर्ने भएकाले पहिलो चरणमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिए । जनमानसकाे सहभागिता हेरेर यो कार्यक्रमलाई निरन्तरता दिइने बताइएकाे छ।