गण्डकीमा थप ७ कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित



पोखरा, १२ जेठ । पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी सो पुष्टि गरेको हो।

योसहित गण्डकी प्रदेशभर कुल मृत्यु हुनेको संख्या ५ सय ७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । मृत्यु हुनेमध्ये कास्कीका ४, स्याङ्जाका २ र लमजुङका १ जना छन् ।

पोखरा २६ का २९ वर्षीय पुरुषको सोमबार पोखराको मेडिप्लस अस्पतालमा उपचार क्रममा मृत्यु भयो । पोखरा १२ का ७८ वर्षीय पुरुषले बुधबार होम आइसोलेसनमै ज्यान गुमाए ।

कास्कीको माछापुच्छे ३ का ८५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बुधबार नै मृत्यु भयो । मणिपालमै स्याङ्जा वालिङ ९ का ४८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १ का ४१ वर्र्षीय पुरुष र वालिङ ८ की ६० वर्षीया महिलाले मंगलबार ज्यान गुमाए ।

लमजुङको मध्यनेपाल नगरपालिका ४ की ८५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा मंगलबार निधन भयो ।

यसैबीच, गण्डकीमा बुधबार थप १ हजार ७९ जना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या ३७ हजार ९ सय ५४ पुगेको छ।