अक्सिजन नहुँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७ बिरामीको निधन

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



पाेखरा, १४ जेठ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको सो अस्पतालमा बिहीबार राति ९ः०० देखि १०ः०० बजेको अवधिमा अक्सिजन आपूर्ति पूर्णरुपमा बन्द हुँदा उच्च गति (हाइफ्लो) अक्सिजनको सहायता र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीले ज्यान गुमाएका हुन् ।

बिहीबार बिहानसम्म अस्पतालको मेडिकल आइसोलेशनमा पाँच र डी क्यान्टिन आइसोलेशनमा दुई गरी सात सङ्क्रमितको निधन भएको अस्पतालको मेडिकल आइसोलेशनका फोकल पर्सन डा डेविट श्रेष्ठले बताए।

प्रदेशको ठूलो सरकारी अस्पताल भए पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाको आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालले पोखरा अक्सिजन ग्यास प्रालिसँग अक्सिजन आपूर्तिको सम्झौता गरेको छ ।

पछिल्लो समय अस्पतालमा कोभिडका बिरामी बढेसँगै अस्पतालको माग पनि उच्च छ । हाइफ्लोका बिरामीलाई अलिकति पनि अक्सिजन कमी हुने बित्तिकै समस्या हुने चिकित्सक बताउँछन् । अस्पतालमा पटकपटक अक्सिजन आपूर्ति व्यवस्थापनमा समस्या देखिँदै आएको बताइन्छ । हालको अवस्थामा अस्पतालमा न्यूनतम २५० देखि ३५० सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ । पोखरामा रहेका दुई अक्सिजन कम्पनीले प्रदेशमा अक्सिजन आपूर्ति गर्दै आएका छन् ।

कोरोना सङ्क्रमति बढेसँगैै सरकारले पश्चिमाञ्चल अस्पताललाइ कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । अस्पतालमा हाल ७० जना काेराेना संक्रमितकाे उपचार भइरहेकाे छ।