निषेधाज्ञा उल्लंघन गर्ने व्यवसायीबाट २३ लाख राजश्व संकलन

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



चितवन, १९ जेठ । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३ सय ८८ व्यवसायीलाई कारबाही गरिएको छ । निषेधाज्ञा उल्लंघन गरेकाहरूबाट २३ लाख राजश्व संकलन समेत भएकाे जनाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार उनीहरुलाई १ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको थियाे । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए ।

यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डमा राखिएकामा मास्क नलगाई हिँड्डुल गर्ने पनि छन् । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका १ हजार ७ सय सवारी साधनलाई कारबाही गरिएको छ । त्यसमा चारपाङ्ग्रे सवारी साधन १ हजार ४ सय ४५ र दुईपाङ्ग्रे सवारी साधन ६ हजार २ सय ६० रहेका छन् । उनीहरुलाई ५ सयदेखि १ हजारसम्म जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारबाहीस्वरुप २२ लाख ९१ हजार राजश्व सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।