विरोध भएपछि सरकारले भन्यो- चुरे संरक्षणमा प्रतिबद्ध छौं

-



     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० जेठ। व्यापार घाटा कम गर्न भन्दै चुरे दोहनको कार्यक्रम बजेटमार्फत ल्याएकोमा चौतर्फी विरोध हुन थालेपछि सरकारले ध्यानाकर्षण भएको जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको ११९ बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ’ भनिएको छ। यहि बुँदामा चौतर्फी विरोध भएपछि अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्ने जनाएको हो।

सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेकाले चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको विज्ञप्तीमा उल्लेख छ। यस्तै खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरे/भावर/शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको भन्दै मन्त्रालयले चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म रहेको दाबी पनि गरेको छ।

मन्त्रालयले सरोकारवालासँग छलफल गरेर यसै आधारमा मापदण्ड बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।