
ओखलढुङ्गा, २२ जेठ । प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए ।
गृह जिल्ला गएका उनले प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि करीब रु ३४ अर्बको हाराहारीको प्रादेशिक बजेट ल्याउने तयारी गरेको बताए । चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने र त्यसलाई पूर्ण कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको मन्त्री गुरुङको भनाइ छ । उनले विगतका अधुरा योजना सम्पन्न गर्न, क्रमागत योजनालाई निरन्तरता दिन र थप गौरवका आयोजना समेटेर लोकप्रिय बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको बताए ।
कोरोना सङ्क्रमण रोकथाममा सरकार केन्द्रित हुनुपर्ने भए पनि विकास बजेट नघटाई ल्याउने उनको भनाइ छ । “महामारीका रुपमा रहेको कोरोना सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उद्धार र उपचारमा सरकारले बढी ध्यान दिनुपर्ने अवस्था छ, तर कोरोनाको कारणले प्रदेशको भौतिक विकास अवरुद्ध हुँदैन”, मन्त्री गुरुङले भने, “विगतमा शुरु भएका योजना सम्पन्न गर्ने र बजेट नपुगेर रोकिएका योजना अघि बढाएर प्रदेश सरकारको प्रगति देखाउने बजेट पनि हो यो, गौरवका योजना अघि बढाउने लक्ष्य पनि छ, समग्रमा भन्दा यो वर्षको बजेट सबै क्षेत्र र वर्गलाई समेटेर आउँछ ।”
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना धेरै समावेश नहुने भए पनि केही लोकप्रिय कार्यक्रम थपिने र स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई समेटेर बजेट आउने बताए । उनले बजेटको मार्गदर्शन तथा सिलिङ सबै मन्त्रालयलाई उपलब्ध भइसकेको र मन्त्रालयले तय गर्ने बजेटको सिलिङमा कम्तीमा पनि बजेटको ४० प्रतिशत पूर्वाधारमा अनिर्वाय गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेशको आवधिक योजना, सरकारको नीति तथा कार्यक्रम, दिगो विकासको लक्ष्य, राजश्व परामर्श समितिले दिएको सुझावसमेत समेटेर बजेटको तयारी भइरहेको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा करीब रु १६ अर्ब हाराहारीको बजेट सिलिङ छ । प्रदेशमा बजेटको तयारी भइरहेका बेला कोरोना रोकथामका स्वास्थ्य सामग्री लिएर जिल्ला गएका गुरुङले विकास निर्माणका कामको समेत अनुगमन गरिरहेका छन् । उनले पहुँचका भरमा झ्यालबाट योजना छिराउने चलनको अन्त्य गरेको जिकिर गरे । यसअघि विगतका मन्त्रिपरिषद्का अर्थमन्त्रीले बजेटमा बेथिति ल्याएकाले कार्यान्वयन गर्न समस्या भएको उल्लेख गर्दै मन्त्री गुरुङले अबको बजेट पूर्ण कार्यान्वयन हुने बताए ।
कोरोनाको महामारीका कारण प्रदेश सरकारले यस वर्ष प्री–बजेट माथिको छलफल नगर्ने भएको छ । आगामी असार १ गते सार्वजनिक हुने बजेटमाथि १५ दिनअगावै सदनमा प्री–बजेटमाथि छलफल गर्ने व्यवस्था छ । कोरोना सङ्क्रमणको जोखिमलाई देखाउँदै प्रदेश सरकारले प्री–बजेटमाथिको छलफल नगरी बजेट ल्याउने तयारी गरेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




