नेप्सेलाई साउनबाट राफसाफ कोष ल्याउनैपर्ने बाध्यता

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ जेठ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई साउनबाट राफसाफ कोष ल्याउनैपर्ने बाध्यता परेको छ।

नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि नेप्सेलाई आउँदो साउनबाट राफसाफ कोष ल्याउनैपर्ने बाध्यता परेको हो।

राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन बोर्डले नेप्सेलाई कडा निर्देशन दिएको छ।

अब सेयर खरिदकर्ताले समयमै भुक्तानी गर्न नसकेमा कारोबार राफसाफका लागि ब्रोकरले राफसाफ कोषबाट नगद सापटी लिन पाउँछन्।

बजारलाई व्यवस्थित र अनुशासित राख्नका लागि राससाफ कोष नगण्य भएको भन्दै नेप्सेलाई बोर्डले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको थियो।

नेप्सेले बेवास्ता गरेपछि निर्देशन नै जारी गर्न बाध्य भएको बोर्डले जनाएको छ।

बोर्डले आर्थिक वर्ष २०७७/७८ भित्र ५० करोड, ०७८/७९ भित्र थप ३० करोड र ०७९/८० भित्र थप २० करोड गरी कुल १ अर्बको कार्यान्वयनयोग्य कोष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ।

अहिले यो कोषमा ३१ लाख मात्र रहेको बोर्डले जनाएको छ।