निरन्तर नेप्सेमा नयाँ कीर्तिमान, विकास बैंक र फाइनान्समा झुम्मिए लगानीकर्ता

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ जेठ । साताको तेश्रो दिन मंगलबार शेयर बजारमा फेरि नयाँ कीर्तिमान थपिएको छ । अघिल्लो आईतबार नेप्से २९०६.९१ विन्दुमा पुगेर रेकर्ड कायम गरेकोमा आज सोहि रेकर्ड तोडिएर नयाँ रेकर्ड कायम भएको छ । नेप्से २९६०.१४ विन्दुमा पुगेको छ । जो अहिलेसम्मकै उच्च विन्दु बनेकाे हो ।

आज विकास बैंक तथा फाइनान्स उपसमूहमा उछाल आएको छ । विकास बैंक उपसमूहतर्फ परिसूचक ९.०४ प्रतिशतले बृद्धि भएको छ । यस्तै फाइनान्स उपसमूहतर्फ परिसूचक ८.७१ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड २.२५, जीवन बीमा ३.६५, नीर्जिवन बीमा उपसमूहतर्फ ३.७८ प्रतिशतको बृद्धि भएको छ ।

नेप्से ५३.४४ अंकले बृद्धि भएर २९६०.१४ विन्दुमा पुगेको हो । जो अहिलेसम्मकै उच्च विन्दु कायम पनि भएको छ । नेप्से १.८४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.४७ अंकले बृद्धि भएर ५२८.१० विन्दुमा पुगेको छ ।

कुल १७ वटा कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ४९ लाख ४७ हजार ७६७ कित्ता शेयरको खरिदबिक्रीबाट १६ अर्ब ५५ करोड ८४ लाख ५६ हजार ४८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानी उपसमूहमा रातो लाग्दा बाँकी १० उपसमूहमा हरियाली छाएको छ । सबैको शेयर बढेको छ ।

७ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य १० बढी कम्पनीहरुको सर्किट लेवलको करोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बढी करोबार गरेका कम्पनीहरुमा नेपाल पूनर्बीमा कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, लुम्बिनी विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, गरिमा विकास बैंक लिमिटेड, एनसीसी बैंक, मुक्तीनाथ विकास बैंक, कुमारी बैंक र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् । यीमध्ये कारोबारका आधारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ७ हजार ५३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्किट लागेका ७ कम्पनीहरूमा मुक्तिनाथ विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्याेरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।