अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, अरुण भ्याली हाइड्रो काराेबारमा अगाडी

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । साताको दोश्रो दिन सोमबार शेयर बजारमा चमक देखिएकाे छ। दिउँसो २.४२ वजेसम्म ३ हजार विन्दुमाथि पुगेको नेप्से बजार बन्द हुँदासम्म त्याे अवस्था कायम रहँदै नेप्से ३०२५.८२ विन्दुमा पुगेर रोकियो । जुन अहिलेसम्मकै उच्च विन्दु हो । सूचक ३ हजारभन्दा माथि पुग्दा कारोबार रकममा पनि उत्साह देखिएको हाे ।

अहिले निषेधाज्ञाको कारण शेयर बजारबाहेक अन्य लगानीका क्षेत्रहरु खुम्चिएको अवस्था रहेको छ । शेयर बजारमा भौतिक उपस्थितिबिनै लगानीको अवसर भएको कारण र डिजिटल प्रणालीमा अन्य मुलुकबाट पनि कारोबार गर्न सक्ने भएकोले लगानीकर्ताहरुको लगाब बढेको पाईन्छ ।

नयाँ तथा पूराना लगानीकर्ताहरु जो भएपनि शेयरमा लगानी गर्नु भनेको नाफा कमाउनु नै हो । अर्थ क्षेत्रका जानकारहरुले राम्रा कम्पनी र उनीहरुको वित्तीय सूचकहरुलाई अध्ययन गरेर छनोट गर्नुपर्ने बताउँछन् । उनीहरूले वित्तीय सुधारकाे मजबुत अवस्थालाई हेरेर लगानीका लागि अग्रसर हुनुपर्ने बताउँदै आएका छन् ।

नेपाल स्टक एक्जचेञ्जका अनुसार साेमबार नेप्से ४२.७२ अंकले बृद्धि भएर ३०२५.८२ विन्दुमा पुगेको छ । नेप्से १.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.६० अंकले बढेर ५५०.०१ विन्दुमा पुगेको छ ।

कुल २२१ कम्पनीको शेयर कारोबार भएकोमा ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयरको खरिद बिक्रीबाट १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ७ उपसमूहको शेयर बढेको छ । उनीहरु बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, नीजिवन बीमा, उत्पादन, जीवन बीमा र लगानी उपसमूह रहेका छन् ।

यस्तै ६ उपसमूहको शेयर घटेको छ । व्यापार, विकास बैंक, हाइड्रोपावर, अन्य, माइक्रोफाइनान्स र म्युचअल फण्डको शेयर घटेको हाे ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको ६२ करोड ५९ लाख ९३ हजार ९१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।