सरकार अपाङ्गता भएकाहरूलाई खाेप खाेई ?-स्वाबलम्बन जीवनपद्धती केन्द्र

- स्वास्थ्य अधिकारबाट वञ्चित हुने त हाेईन ?

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



पोखरा, १ असार । स्वाबलम्बन जीवनपद्धती केन्द्र, पोखराले तीनै तहका सरकारसंग अपाङ्गता भएका व्यक्तिहरुको लागि यथासक्य छिटाे कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।

अन्य व्यक्तिहरु भन्दा अपाङ्गता भएका व्यक्तिहरु कोरोना भाइरसको संक्रमणबाट बढी जोखिममा रहेकोले कोरोना विरुद्धको खोप उपलव्ध गराउन संस्थाका अध्यक्ष हेम बहादुर गुरुङ र महासचिव अञ्जना के.सीले माग गरेका छन् । उनीहरूले भने, अपाङगता भएको वर्ग कतै महत्वपूर्ण अधिकारको रुपमा रहेको स्वास्थ्य अधिकारबाट वञ्चित हुने त हाेईन ?

संस्थाले भर्चुअल पत्रकार सम्मेलन आयोजना गरेर अपाङ्गता भएका व्यक्तिहरु बढी जोखिममा रहेका र उनीहरुको लागि पहुँचयुक्त भौतिक पूर्वाधार, सञ्चार सेवा, पिसीआर परीक्षण स्थल, आइसोलेसन सेण्टर र उपचार गर्ने अस्पतालहरु समेत कमै रहेको बताएकाे छ ।

विषम अवस्थामा अपांङगता भएका व्यक्तिहरुको लागि दैनिक गुजारा चलाउन कठिन भएको छ । उनीहरुले मनकारी सहयोगदाता, परिवारका सदस्यहरु, सहकर्मी तथा सहयोगीहरुको सहयोगबाट जिविकोपार्जन गर्नुपर्ने अवस्था रहेको उनीहरूले बताए ।

कोरोना विरुद्ध दिईने खोप अभियानमा अपाङ्गता भएका व्यक्तिहरुलाई उच्च प्राथमिकता दिई अविलम्ब खोप उपलब्ध गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको गम्भिर ध्यानाकर्षण गराईएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई पीसीआर परिक्षणमा विशेष प्राथमिकता दिन माग गरिएको छ । यसैगरी अपांगता भएका व्यक्तिहरुको पिसिआर परीक्षण, संक्रमितको संख्या लगायतका सूचनाहरुको व्यवस्थित तथ्यांक राख्न छुट्टै अभिलेखिकरण गर्न आवश्यक रहेको स्मरण गराईएको छ ।

सरकारले जोखिम क्षेत्रको पहिचान गरी अपाङ्गता भएका व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सकेमा अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुको परिवार, सहयोगी तथा समुदाय समेत सुरक्षित रहने उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अधिकार प्रत्याभूत हुने समेत भएकाले यस वर्गलाई खोपमा उच्च प्राथमिकता दिनु अत्यावश्यक रहेकोले संस्थाले तीनवटै सरकार र यससंग सारोकार राख्ने सबैको ध्यानाकर्षण गराएको छ ।