५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएकाे खुलासा, बुझेर मात्र लगानी गर्न धितोपत्र बोर्डको आग्रह

- कसूरकाे सम्बन्धमा बिस्तृत अध्ययन हुदैं

-



     आरजू विष्ट सल्यानी    
     असार १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा ५१ वटा कम्पनीहरुले शेयरमूल्यमा चलखेल गरेकाे खुलासा गरेकाे छ ।

बोर्डले मंगलबार बिज्ञप्ति नै प्रकाशित गरेर यसअघि गठन गरिएको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको शेयरमूल्यमा चलखेल गरेर बृद्धि गरेको जानकारी दिएको हो । समितिले तयार पारेको प्रारम्भिक रिपोर्टमा ५१ वटा कम्पनीहरुमा २२ वटा हाइड्रोपावर मात्र रहेका छन् ।

बिगतको १ वर्षको अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर नेटवर्थ कम भएका कम्पनीको वर्तमान वित्तीय क्षमता मूल्यांकनको आधारमा हाल ५१ वटा सूचिकृत संगठित संस्थाहरु जोखिमयुक्त देखिएका छन् ।

यी संस्थाहरुको भित्री कारोबार, सर्कुलर कारोबार, कार्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा बिस्तृत अध्ययन कार्यलाई अगाडी बढाईएको बोर्डले जनाएको छ ।

धितोपत्र बजारको जोखिमलाई मनन गरेर लगानी गर्नका लागि बोर्डबाट भएको अध्ययनले लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय गर्नका लागि सहयोग पुग्ने आशयले विवरण प्रकाशनमा ल्याएकोले सोही अनुसार निर्णय गर्न बोर्डले अनुरोध गरेको जनाएको छ ।

बोर्डका अनुसार धितोपत्र बजारको विकास र स्थायित्वले देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिने भएकोले यसको विकासका लागि सबै सरोकारवालाहरुको आवश्यक सहयोग हुनेमा बोर्ड विश्वस्त रहेको छ । बोर्डले धितोपत्र बजारमा लगानीकर्ताको विश्वास रहेमा मात्र विकास र स्थायित्व कायम रहने भएकोले त्यसले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने बताएको छ ।

यसैबीच बोर्डले लगानीकर्ताको विश्वासलाई कायम राख्नका लागि आवश्यक कार्य गर्ने जानकारी दिएको छ । साथै लगानीको जोखिम बहन क्षमतालाई दृष्टिगत गरेर वित्तीय परिसूचक मूल्यांकन गरी सुजबुझले लगानी गर्ने निर्णय गर्न अनुरोध गरेको छ ।