मौद्रिक नीतिको तयारी तीव्र बनाउँदै राष्ट्र बैंक, राहत प्याकेज प्राथमिकतामा

-



     सफल आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी तीव्र बनाएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको तयारीलाई तीव्र बनाइएको बताएका छन् । यसका लागि राष्ट्र बैंकले सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ ।

विगतका वर्षहरुमा पाँचतारे होटलमा विशेष कार्यक्रम आयोजना गरेर सरोकारवालाहरुको सुझाव लिने गरिएको थियो । तर अहिले कोरोना संक्रमणको त्रास भएका कारण राष्ट्र बैंकले भर्चुअल रुपमा सुझाव लिइरहेको छ ।

सरकारले जेठ १५ गते आगामी आव २०७८।७९ का लागि बजेट सार्वजनिक गरेपछि त्यसको कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव संकलन सुरु गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक संगठन तथा सम्बद्ध सरोकारवालाहरुबाट सुझाव माग गरेको हो ।

केन्द्रीय बैंकले बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगानामा वा आर्थिक अनुसन्त्रान विभाग बालुवाटार काठमाण्डौंमा पत्राचार मार्फत समेत राय सुझाव पेश गर्न सकिनेछ ।

यसअघि औपचारिक कार्यक्रम आयोजना गरी सुझाव संकलन हुँदै आइरहेकोमा कोरोना संक्रमण बढ्ने थालेपछि केन्द्रीय बैंकले इमेल मार्फत नै सुझाव संकलन गर्न थालेको हो । कोरोना महामारीका बेला भएका कारण बैंक तथा वित्तीय संस्था साथै निजी क्षेत्रहरुलाई केहि राहत दिने गरी मौद्रिक नीति तर्जुमा हुने राष्ट्र बैंक श्रोतले बताएको छ ।