५१.६५ अंकले घट्यो नेप्से, ८ अर्ब ३६ करोड बढीको कारोबार

- राजनीतिक घटनाक्रमले शेयर बजार प्रभावित

-



     सफल आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ असार । मंगलबार सर्वत्र हरियाली छाएको शेयर बजारले बुधबार उल्टो दिशाको यात्रा गरेको छ । सबै सूचकहरु राताम्मै भएका छन् भने कुनै समय करिब २० अर्बको कारोबार भएकोमा आज भने ठूलो गिरावट देखिएको छ ।

नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा पुगि रोकिएको छ । नेप्से १.७७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ७.३७ अंकले घटेर ५२८.९७ विन्दुमा पुगेको छ ।

कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएकाे छ ।
आज १३ वटै उपसमूहरु राताम्मै भएका छन् उनीहरु सबैको शेयर घटेको छ ।

बैकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरु सबैको शेयर घटेकाे हाे ।

राजनीतिक घटनाक्रमले शेयर बजार प्रभावित

अक्सर राजनीतिक घटनाक्रम, विपद वा वित्तीय क्षेत्रमा विभिन्न समयमा हुने गरेका नकारात्मक गतिविधिले शेयर बजारमा प्रभाव पर्ने गरेको देखिएको छ । लगानीकर्ताहरु यस्तो बेलामा जोखिम मोल्न तयार नहुनुले र उत्साह घटेको अवस्थामा लगानीका लागी उनीहरू तत्पर हुँदैनन् ।

केहि दिनअघि नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा चलखेलको कारण शेयरको मूल्यवृद्धि भएको सूचना प्रकाशन भएपछि शेयर बजार निरन्तर ओरालो लागेको थियो ।

मंगलबार सकारात्मक लयमा फर्किएको शेयर बजारमा बुधबार राताम्मै देखिनुको कारण सर्वोच्च अदालतको आदेशबाट संसद विघटनपछि बनेको मन्त्रिपरिषदको बदर र २० मन्त्री पदमुक्त भएको घटनाक्रमले अन्योल पैदा भएको आकलन गरिएको छ ।

बुधवार सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५४ करोड ३० लाख ३६ हजार ६०३ रुपैयाँ बराबरको करोबार भएको छ ।

यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी, राधी विद्युत, ङादी ग्रुप पावर, छ्याङ्दी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत क्रमसै बढी कारोबार गर्ने कम्पनीहरु रहेका छन् ।

कालिका पावर, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, अरुण काबेली, मल्टीपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायत कम्पनीहरुलाई घाटा भएको छ ।