ब्राजिलमा कोरोनाबाट मृत्यु घटेन, एकै दिन २ हजार बढीको मृत्यु

-



     सफल आवाज    
     असार १० गते २०७८ मा प्रकाशित



साओ पाओलो, ९ असार । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ ।

यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार १३१ जनाको निधन भएको हो ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ ।

यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा पाँच लाख चार हजार ७१७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ ।

यहाँ सन् २०२० फेब्रुरुअरी २६ बाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको निरन्तररुपमा मृत्यु भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी मंगलबारसम्म एक करोड ८० लाख ५४ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका पनि बताइएको छ । त्यस्तै मंगलबार २४ घण्टाअघि देखिका गरी ब्राजिलमा ८७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि जानकारी दिइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या केही हप्ता अघि घटेको देखिएको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।

यहाँका आठ करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । पछिल्लो समयमा धेरै नागरिकमा खोप लगाइएको छ तर पनि सङ्क्रमण भने घट्न सकेको छैन । (रासस/सिन्ह्वा)