पोखरा महानगर नीति तथा कार्यक्रम: क्रमागत योजनालाई निरन्तरता

-



     सफल आवाज    
     असार १० गते २०७८ मा प्रकाशित



पोखरा, १० असार । क्रमागत योजनालाई निरन्तरता दिने गरी पोखरा महानगरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै वडा समितिबाट सिफारिस सडक योजनामा बजेट विनियोजना गरिने र क्रमागत योजना सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिइएको बताए ।

निर्माणाधीन पुल, भवन, सडक पूरा गर्ने र निर्माण प्रक्रिया थालनी भएका योजना सुरु गर्ने विषय नीति तथा कार्यक्रममा छ ।

यसैगरी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, उपचार र रोकथामका कामलाई आगामी आवमा पनि प्राथमिकताका साथ निरन्तरता दिइने भएको छ । ‘विगतबाट संचालित आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सुसंचालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यहरुलाई निरन्तरता दिइने छ । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको जोखिम भक्तालाई निरन्तरता दिइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

यस्तै, कोरोनाबाट ज्यान गुमाएकाको शव व्यवस्थापनको कार्यलाई गुनासो रहित तवरमा व्यवस्थापन गरिने, शव व्यवस्थापनको लागि उपयोग गरिएको स्थानलाई पार्कको रुपमा विकास गर्ने नीति कार्यान्वयन गरिने भएको छ ।

कोरोनाले विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीलाई समय सिमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गर्ने, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । तेस्रो लहर समेत आउन सक्ने आँकलनका साथ आवश्यक रकम कोभिड नियन्त्रण सम्बन्धी कोषमा विनियोजन गरिने मेयर जिसीले बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

विकटलाई निकट ल्याउने अठोटका साथ सुरु गरिएको कनेक्टिङ सडक कार्यक्रमलाई निरन्तरता दिइने, चालू आर्थिक वर्षको लागि विनियोजित भएको र कोभिडको कारणले भएको निषेधाज्ञा समेतले प्रभाव पारी सम्पन्न हुन नसकेका आयोजनाहरु आगामी आर्थिक वर्षमा प्राथमिकताका दिई सम्पन्न गरिने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

अस्फाल्ट पिचका कारण जनतामा सकारात्मक सन्देश प्रवाह भएको हुँदा यस कार्यलाई सहरको अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ । यस कार्यको लागि सडक निर्माणमा संलग्न राज्यका अन्य निकायसँग सहकार्य गरिनेछ । अस्फाल्ट पिच गरेको सडक कुनै पनि प्रयोजनको लागि कम्तीमा २ वर्ष खन्न नपाउने नीति निर्धारण गरिनेछ र पिच गर्नु पूर्व स्थानीयवासीहरुलाई आफ्नो आवश्यकताका कार्यहरु सम्पन्न गर्न प्रेरित गरिनेछ ।


उज्यालो पोखरा अभियान संचालनको लागि नेपाल विद्युत प्राधिकरणसँग गरिएको सहकार्यलाई निरन्तरता दिइने छ । विश्व बैंकको सहयोगमा संचालित तालचोक बेगनास सडकको निर्माण कार्य आरम्भ गरिनेछ भने उक्त आयोजना मार्फत् संचालन हुने अन्य योजनाहरुको छनोट गरिनेछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग महानगरपालिकाले उपलब्ध गराउने भएको छ । पोखरा क्षेत्रको समग्र ढलको व्यवस्थापनका लागि जापान सरकारको आर्थिक सहयोग तथा संघीय खानेपानी विभागको प्राविधिक सहयोगमा संचालित गुरुयोजना निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाइनेछ । ढल प्रशोधन गर्ने प्रयोजनको लागि जग्गाको खोजी गरी जग्गा प्राप्ति तर्फको कामलाई अगाडि बढाइने भएको छ ।

५० लाख भन्दा बढी लागत भएका योजनाहरुको मर्मत सम्भार गरी दिगोपना ल्याउने उद्देश्यले २ प्रतिशत का दरले मर्मत सम्भार कोष कट्टा गरिने, उपभोक्ताको श्रम, सिप र प्रविधिमा आधारित २५ लाख सम्मका योजनाहरु उपभोक्ता समिति मार्फत् सञ्चालन गर्न प्रोत्साहित गरिने, पोखरा उपत्यकासँग जोडिएका ग्रामीण बस्ती र वडाहरुलाई सहरी क्षेत्रसँग जोड्ने, विपत्मा उद्दार गर्दा वा स्वास्थ्य आपतकाल परी एम्बुलेन्स मगाउँदा बीचैमा अलपत्र पर्नु नपर्ने अवस्थाको सुनिश्चितता गर्दै सडक तर्फका पूर्वाधारहरुको प्राथमिकता निर्धारण गरिएको छ ।

आन्तरिक पर्यटनमा टेवा पुर्‍याउन जनप्रतिनिधिलाई पनि ५ दिनको पर्यटन बिदा उपलब्ध गराइने नीति तथा कार्यक्रममा छ ।

सरकारले कर्मचारीको हकमा लागू गरेको भत्ता वृद्धि, पर्यटन काज, बालविकास सहयोगी कार्यकर्ताहरुको लागि वृद्धि गरेको सुविधा, महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि वृद्धि गरेको सुविधा, तथा प्रहरी कर्मचारीको हकमा वृद्धि गरेको राशन खर्च जस्ता निर्णयको कारणले सिर्जना हुने आर्थिक दायित्व वहन गर्ने गरी बजेट तर्जुमा गरिने भएको छ । आन्तरिक पर्यटनमा टेवा पुर्‍याउन जनप्रतिनिधिलाई पनि ५ दिनको पर्यटन बिदा उपलब्ध गराइने नीति तथा कार्यक्रममा छ ।

महानगरको प्रधानकार्यालय पोखरा १२ मा निर्माण कार्य यसै वर्ष सुरु गरिनेछ । वडा ८ मा रहेको पुरानो दमकलमा महानगरका महाशाखाहरु रहने गरी भवन निर्माण कार्य सम्पन्न गर्नुका साथै स्थानीय सेवा प्रवाहको पहिलो सम्पर्क विन्दुको रुपमा रहेका वडा कार्यालयहरुको भवन निर्माण अभियानलाई निरन्तरता दिइने छ । जमीनको व्यवस्थापन भएको स्थानमा वडा भवन निर्माण आरम्भ गरिनेछ ।

शान्ति सुरक्षा, कानुन कार्यान्वयन, महिला सुरक्षा लगायतका कार्यमा बहुउपयोगी हुने गरी सहरमा सिसिटिभीको नेटवर्क जडान गरी जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम स्थापना गर्ने तथा नगर प्रहरी तथा अन्य सुरक्षा अंगले त्यसको उपयोग गर्ने गरी स्थानीय प्रशासनसँग साझेदारीमा संचालन गरिनेछ ।

वडा कार्यालयलाई जनशक्ति तथा थप स्रोत साधनयुक्त बनाइनेछ । जनताले प्राप्त गर्ने आधारभूत सेवाहरु वडा कार्यालयबाट नै प्राप्त गर्न सक्ने नीति लिइनेछ ।

प्रशासनिक खर्च कटौतिको लागि प्रविधितर्फ आकर्षित हुन नसकेका तथा उत्पादकत्व कमहँुदै गएका कर्मचारीहरुलाई लक्षित गरी स्वेच्छिक अवकाशको नीति तर्जुमा गरिनेछ । अत्यावश्यक बाहेक, यस्ता दरबन्दीहरु पुनः पदपूर्ति नगरिने भएको छ ।

शिक्षातर्फ कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीमा परेको असर समेतलाई मध्यनजर गर्दै आगामी दिनमा विद्यालयहरूमा वेबसाइट निर्माण, इन्टरनेट, इन्ट्रानेट सुविधा विस्तार गरी कक्षा कोठा प्रविधि मैत्री बनाउँदै एक विद्यालय एक प्राविधिक कक्ष निर्माण कार्य अनिवार्य गर्दै लगिने भएको छ ।

महानगरीय खेलकुद विकास समितिका मार्फत् वडास्तरमा खेल प्रतियोगिता तथा प्रशिक्षण संचालन गरिनेछ । स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई निरन्तरता दिँदै एक टोल, एक खुल्ला क्षेत्र, एक खुल्ला क्षेत्र एक व्यायामशाला कार्यक्रम सञ्चालन गरिनेछ । महानगर वर्ष खेलाडी छनोट गरी सम्मान गर्ने व्यवस्था रहेको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने छ भने महानगर रत्न चयन गरी सम्मान गरिनेछ ।

स्वास्थ्य सेवालाई जनताको सहज पहूँचमा पु¥याउन एम्बुलेन्सहरुको एकीकृत सेवाको अवधारणा विकास गरिनेछ । तीन अंकको कल सेवा तथा रेडियोयुक्त एम्बुलेन्सहरुको लागि साझेदार संस्थाको खोजी गरी सहकार्य गरिनेछ । नगरपालिका भित्र एम्बुलेन्स स्टेसन स्थापना गरिनेछ ।

साविक लेखनाथ नगरपालिका भवनमा हाल निर्मित कोभिड वार्डलाई क्रमशः शिशुवा अस्पतालको मूख्य संरचनाको रुपमा विकास गरिने छ । ५० शैयाको उक्त अस्पतालमा ५० शैया थप गरी क्रमशः १ सय शैड्ढयाको अस्पतालको रुपमा विकास गरी आत्मनिर्भर रुपमा संचालित हुनेतर्फ अग्रसर गराइनेछ । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिङ र बजारीकरण गरिने कार्यक्रम पनि उल्लेख छ ।

सहकारीतर्फ महानगरपालिकामा संचालित सहकारीहरुलाई एक सहकारी एक उत्पादनका कार्यक्रममा थप प्रोत्साहनका साथ परिचालन गरिने तथा फेवाताल लगायत पोखराका अन्य ७ तालहरुको सिमांकन सम्पन्न भइसकेकोले उक्त तालको मापदण्ड निर्धारण गरिने नीति तथा कार्यक्रमले समेटेको छ ।