
तनहुँं, १३ असार । पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो ।
यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई आगामी वर्ष डेढ करोड बजेट विनियोजन गरिएको छ । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाललाई गाउँपालिकाले एक करोड ५० लाख बजेट विनियोजन गरेको हो ।
वडा नं २ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । नयाँ–नयाँ गन्तव्य बनाउने लक्ष्यसहित शुरु गरिएको ग्रेटवाललाई पर्यटकीय हबका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।
गत वर्षदेखि निर्माण शुरु गरिएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौं, मिनी ग्रेटवाल निर्माणका लागि सङ्घ सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ”, उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि काम अगाडी बढाउन सहज हुने उनले बताए। उनका अनुसार गत वर्ष १ हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । चालु आवमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा ३० लाखको काम भइरहेको छ ।
यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् ।
गाउँपालिकाले टुँडिखेलमा शिशाको भ्युटावर निर्माणका लागि पनि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । उक्त केन्द्रबाट एकपटकमा १५ व्यक्तिले अवलोकन गर्न मिल्नेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




