काठमाडाैं महानगरमा घट्दै संक्रमण दर

-



     सफल आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असार । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक १ हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले २ सयले परीक्षण गर्ने गरेका छन् ।

महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन ४ व्यक्तिका दरले ३ टाेली बनाएर परीक्षण गरिरहेको छ । १ महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने गरेको थियो । अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ ।

अघिल्ला हप्तामा अत्यधिक कोरोना सङ्क्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको सङ्ख्या घटेको र आउनेमध्येमा पनि थोरैमा मात्र सङ्क्रमण देखिएको छ ।

हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएका छन् । हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणकै कारण हालसम्म ४ सय ८४ ले ज्यान गुमाएका छन् ।

महानगरपालिकामा हाल रहेका सङ्क्रमितमध्ये ३ हजार ७ सय २२ होम आइसोलेशनमा छन् भने १ सय ३५ संस्थागत आइसोलेशनमा र २ सय २४ ले अस्पतालमा उपचार गराइरहेका छन् ।