भारतमा थप ४४ हजार नयाँ संक्रमित, सक्रिय ५ लाखभन्दा कम

-



     सफल आवाज    
     असार १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ असार । भारतमा कोरोना भाइरसबाट थप ४४ हजार १ सय ११ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७ सय ३८ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ५७ हजार ४ सय ७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ । सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सबैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले ४ लाख ९५ हजार ५ सय ३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् । अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ३ करोड ५ लाख २ हजार ३६२ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये २ करोड ९६ लाख ५ हजार ७ सय ७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने ४ लाख १ हजार ५० जना कोरोना भाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

भारतमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०६ प्रतिशत रहेको छ। रासस