ज्योति विकास बैंकको १ अर्ब ५० करोडको ऋणपत्र बिक्री खुल्ला

-



     सफल आवाज    
     असार २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० असार । ज्योति विकास बैंकले आजदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको लागि ‘ज्याेति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस्मा ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्तामा सर्वंसाधारणले आवेदन गर्न पाउने छन । यसबाट ५ प्रतिशतले हुने तीस हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थाका लागि बिक्री गरिने भएको छ ।

लगानीकर्ताले कम्तिमा २५ तथा बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । ऋणपत्र खरिद गर्नको लागि लगानीकर्ताले असार २३ गतेसम्म आवेदन गर्न सक्नेछन् । तोकिएको मितिभित्र माग बमोमिको आवेदन नपरेको खण्डमा लगानीकर्ताले साउन ३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

ज्योति विकास बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।