
रुकुम(पूर्व), २० असार । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ ।
शुरुआती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । बीउ लसुनको मूल्य भने रु १२५ पुगेको उनको भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले जम्मा गरेको लसुन दाङतिरका ठूला व्यापारीले ठेक्कामा लिने गरेका छन् ।
आगामी आर्थिक वर्षमा कृषकलाई अनुदानमा लसुनको बीउ वितरण गर्ने जनाउँदै ३५ क्विन्टल लसुनको बीउ वडाले खरिद गर्न जनाइएको छ । उनका अनुसार यस वर्ष लसुन उत्पादनबाट मात्रै वडामा रु ४० लाख भित्रिएको छ । सो गाउँ लसुनको पकेट क्षेत्र हो । सो क्षेत्र जिल्लामा सबैभन्दा धेरै लसुन उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ । यहाँ उत्पादित लसुन रुकुमपूर्वको विभिन्न ठाउँसहित, रुकुम पश्चिम, दाङ, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा जाने गरेको छ ।
वडाले पनि चुनवाङमा लसुनखेती र बाख्रापालनलाई जोड दिँदै आएको छ । गाउँपालिकाले कृषकलाई लसुनको बीउ अनुदानमा वितरण गर्दै आएको छ । वडाध्यक्ष पुनले लसुन कम उत्पादन हुने क्षेत्रमा बेसार र अदुवाको पकेट क्षेत्र बनाउने प्रस्ताव गरेको बताए ।
यस्तै वडाका कृषकलाई बोयर जातका बोका पनि वितरण गरिँदै आइएको छ । अहिले वडाले वितरण गरेका १३, गाउँपालिकाका दुई, एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयबाट वितरण गरिएका चार गरी चुनवाङमा १९ बोयर बोका छन् । यसबाटै आगामी वर्षमा ५० प्रतिशत बोयर जातका बोका र पाठी उत्पादन गर्ने लक्ष्य रहेको वडाध्यक्ष पुनले बताए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




