
कर्णाली, २९ असार । वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो । यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो ।
कर्णालीमा प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो । पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रभाकरप्रसाद सिंहले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ठूलो क्षमताको प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । उनका अनुसार रु एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशाला स्थापना भएको हो ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गत रहनुपर्ने भए पनि तत्काललाई प्राविधिक कारण भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमातहत सञ्चालन गर्नुपरेको निर्देशनालय प्रमुख सिंहको भनाइ छ । भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित गर्न प्रदेश सरकारले प्राथमिकताका साथ प्रयोगशाला स्थापना गरेको बताए ।
“पिउने पानीको स्वच्छता उपभोक्ताले थाहा पाउनैपर्छ, पानीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले दूषित पानी उपभोग गर्नुपरेको छ”, उनले भने, “सुर्खेतमै प्रयोगशाला हुँदा पानीजन्य रोगको पहिचान र त्यसको निरुपण गर्न धेरै सहज हुनेछ ।” प्रयोगशालाका लागि कम्तीमा तीन जना जनशक्ति आवश्यक रहेको बताइएको छ ।
प्रयोगशाला प्रमुखका लागि रसायन विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति, खानेपानी ल्याब प्राविधिक र एक सहयोगी कर्मचारीका लागि दरबन्दी सिर्जना गरिएको छ । आगामी भदौ महिनाभित्र करार जनशक्तिको व्यवस्थापन गरिसक्ने मन्त्रालयले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




