ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति गच्छदारसंग रू १० लाख धरौटी माग

-



     सफल आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ असार । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उनले हिजै रु १० लाख बुझाए ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेता गच्छदारविरुद्ध रु नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो ।