
खलङगा, ३१ असार । जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, “तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ ।
पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन् ।” पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले बताउनुभयो । उहाँका अनुसार घरघरमा पुगेर ज्येष्ठ नागरिकको र बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।
भौगोलिक विकटता भएकाले पालिकाभित्र जम्मा पाँचवटा स्वास्थ्य चौकी मात्र रहेका छन् । महिलाहरु घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । अहिले पालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताए । “गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन् ।
आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्”, बुढाले भने । उनले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए । खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्ने तयारी भएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताए । कोरोनाको महामारीका बेला समेत खोप रोकिएको छैन । यहाँको पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
यहाँका आठ स्थानीय तहमध्ये छ पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तिला र पातारासी गाउँपालिका घोषणा हुन सकेका थिएनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयानुसार वडास्तरदेखि पालिका प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने परिपत्रअनुसार यहाँका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




