झापा, ९ साउन । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने ७ अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताए। उनले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बङ्गलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बताए। उनका अनुसार आव २०७६/०७७ मा ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा ४ अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो ।
व्यापार घाटा ३ अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्याङ्कले देखाएको छ । आव २०७१/०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बङ्गलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको उनको भनाइ छ ।
नेपालबाट बङ्गलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बङ्गलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको भन्सार प्रमुख विश्वकर्माले बताए।
मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्याङ्की–फूलबारीबाट बङ्गलादेशको बङ्गलाबन्धबाट व्यापार हुँदै आएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




