नेप्से पुग्यो अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा, १५ अर्ब बढीको कारोबार

-



     आरजू विष्ट सल्यानी    
     श्रावण १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ साउन । साताको तेश्रो दिन मंगलबार शेयर बजारले नयाँ उचाई कायम गरेको छ । यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च रेकर्ड हो । यसअघि नेप्सेको रेकर्ड ३०५८.६३ विन्दु कायम भएकाे थियो ।

नेप्से ३०७९.६७ विन्दुमा पुगेपछि लगानीकर्ताहरु निकै उत्साहि भएका छन् । उत्पादन र हाइड्रोपावरमा बढी आकर्षण देखिएको छ भने कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । मंगलबारको कारोबार नयाँ आर्थिक वर्ष शुरु भएपछिको सबैभन्दा धेरै काराेबार हो ।

नेप्से परिसूचक २९.२४ अंकले बढेर अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा पुगेको छ । नेप्से ०.९६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.१९ अंकले बढेर ५७४.३० विन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयरको कारोबारबाट १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये सबैभन्दा बढी लगानीकर्ताहरु उत्पादनतर्फ झुम्मिएका छन् । यो उपसमूहको ४.७४ प्रतिशतले बृद्धि भएको छ । यसपछि लगानीकर्ताहरु हाइड्रोतिर आकर्षित भएका छन् । यो उपसमूहको ३.७५ प्रतिशतले बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन र माइक्रोफाइनान्स उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।

विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार सबैभन्दा बढी भएको छ । कम्पनीको ४९ करोड ४३ लाख ४ हजार २० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।