काठमाडौंले फर्काएको बिरामीको चरक मेमोरियलले गर्याे उपचार

- कोरोनाले झण्डै ज्यान गुमाएका केशव भन्छन्, ‘चरक मेमोरियलले मलाई पुनर्जीवन दियो’

-



     सफल आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित



पोखरा, २१ साउन ।

‘जीवनको नयाँ अध्यायका लागि हार्दिक बधाई केशवजी ।’

जीवनको झिनो आशा बोकेर अस्पताल भर्ना भएका केशवप्रसाद सुनारले बिहीबार यही भाषाअंकित केक काटेर नयाँ जीवनको अध्याय सेलिब्रेसन गरे । बाँकी जीवनको सांकेतिक अर्थ दिने गरी अस्पतालले पनि उनलाई घडी उपहार दियो ।

किनकि बागलुङको गल्कोट नगरपालिका वडा २ का ४४ वर्षीय सुनारलाई अहिले पुनर्जीवन पाएको अनुभूत भएको छ । ११ वर्षदेखि बेल्जियम बस्दै आएका सुनार नेपाल आएको बखत गत वैशाख १८ (मे १) मा कोरोना संक्रमणको शिकार बने । काठमाडौंमा उपचारका लागि आइसियु नपाउँदा ३ महिनाअघि हेलिमार्फत पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएका उनी अहिले पूर्ण निको भएका हुन् ।

कोरोना संक्रमणपछि निको भएका केशव ।

श्रीमती सीता सुनारको पासपोर्ट नवीकरणका लागि काठमाडौंस्थित परराष्ट्र मन्त्रालय जाँदा उनलाई संक्रमण भयो । उच्च ज्वरो आएकोमा शंका लागि पिसिआर चेकजाँच गर्दा वैशाख १८ मा संक्रमण भएको थाहा लाग्यो । तत्काल बेल्यिजम फर्किने सपना चकनाचूर भयो । त्यसबेला सुनार दम्पती काठमाडौं गएको बेला साथीको घरमा बस्दै आएका थिए । श्रीमान् संक्रमित भएपछि तत्काल श्रीमती सीता सुनारले केही मेसो पाइनन् । आत्तिइन् मात्र । किनकि काठमाडौंमा वैशाख १६ देखि लकडाउन सुरु भइसकेको थियो । सार्वजनिक यातायात ठप्प थियो । खुलेर हिंडडुल गर्नसमेत छुट थिएन । तैपनि श्रीमान्लाई बचाउन सीता पैदल हिडेरै अस्पताल चहार्न थालिन् । कही बेड पाइएन । ठूलो भनिएको वीर अस्पतालमा बाहिरै मानिसहरु छरपस्ट भेटिन्थे । उनी निराश मुद्रामा साँझ फर्किन्थिन् । यता, संक्रमणको केही दिनपछि श्रीमान्को श्वासप्रश्वासमा समस्या हुँदै गएको थियो ।

‘संक्रमणको छैटौं दिन क्यारे,’ सीताले भनिन्, ‘राति सुत्ने बेलामा मोबाइल हेरेको संचारकर्मी रवि लामिछानेले कोरोना संक्रमितको उपचारमा सहज पुर्‍याउन केही नम्बर राखेको फेसबुकमा भेटियो । तुरुन्तै फोन गर्दा काठमाडौकै सर्वाङ्ग अस्पतालमा उपचार हुने जानकारीपछि भोलिपल्ट त्यहाँ गयौं ।’

उनका अनुसार अस्पतालले अक्सिजन त दियो तर ४ दिनको उपचारले बीसको उन्नाइस भएन । झन्झन् श्वासप्रश्वासमा गाह्रो भयो । अस्पतालले आफूकहाँ आइसियु नभएको जानकारी दिँदै तुरुन्तै अर्को अस्पताल लैजान भन्यो । नभए केही घण्टामै बिरामीको मृत्यु हुन सक्ने सम्भावित त्रासले सीता झनै आत्तिइन् ।

उनले नेपालभरका हस्पिटलमा खोजिन् । अहँ कही पनि कोरोना संक्रमितको उपचारका लागि आइसियु बेड पाइएन । अमेरिकामा रहेका एक जना दाइ प्रकाश नेपालसँग सहायता मागिन् । नर्भिकको इमर्जेन्सीमा लगेको त्यहाँ पनि बेड पाइएन । पछि काठमाडौं उपत्यका बाहिर पोखराको चरक मेमोरियल अस्पताल लैजाने कुरा भयो । किनकि यहाँ संयोगले बेड पाइयो ।

बेड त पाइयो, तर पोखरा ल्याउने कसरी ? फसाद पर्‍याे । घिटिघिटी गरिरहेको सिकिस्त बिरामीलाई कसरी पोखरा लैजाने ? गाडीमा सम्भव थिएन । हेलिकोप्टरबाट पोखरा ल्याउन सिम्रिक एयरलाइनमा फोन गरिन् । मौसम खराब छ भन्दै फर्काइयो । पुनः हारगुहार गरिन् । सीताको अनुनयविनय सुनेर हेलिकोप्टर पोखरा आउन तयार भयो । जे भए पनि सुनार दम्पतीलाई पोखरामा आइपुग्दा आफ्नो ठाउँमा आएजस्तो भएछ । जीवन बाच्ने आशमा केशव चरक मेमोरियल भर्ना भए ।

उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको सिंगो टिमको अथक मेहनतपछि ४० दिनपछि डिस्चार्ज गर्न सकिएको चरक मेमोरियल अस्पतालमा अध्यक्ष डा. बद्री पौडेलले जानकारी दिए ।

केशव डिस्चार्ज भए पनि तर सजिलै हिडडुल गर्न भने सकेनन् । किनकि शरीर गलेको थियो । तौल घटेको थियो । कोरोना निको भए पनि लामो समय बेडमा बसिरहँदा समस्या भएपछि फिजियोथेरापी गर्नुपर्ने भयो । कोरोना निको गराएको चरकले अन्य उपचारका लागि फेवा केयर होममा रेफर गर्‍याे।

सीताले श्रीमान्लाई पोखरा ७, शान्तिपाटनस्थित फेवा केयर होम लगिन् । त्यहाँ करिब ४२ दिनसम्म प्राकृतिक उपचार भयो । अहिले केशव जीवनको साँच्चिकै नयाँ अध्याय सजिलै हिडडुल गर्न थालेका छन् । चरक मेमोरियलको सेमिनार हलमा आयोजित उनको बिदाइ समारोहमा केक काटिसकेपछि केशव खुसीका आँसु बगाउँदै भने, ‘मैले पुनर्जीवन पाएँ । मेरो उपचारमा खटिनुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछु ।’


श्रीमानकाे स्याहारसुहारमा अहोरात्र खटिएकी सीतालाई पनि पोखरामा कोरोना संक्रमण देखिएको थियो । तैपनि उनलाई श्रीमान्जस्तो समस्या भएन । संक्रमणको दुई साता नबित्दै उनको रिपोर्ट नेगेटिभ आयो । श्रीमानको उपचारका क्रममा पैसाको कुनै पनि कमी हुन नदिन बेल्जियमबाट बालकृष्ण, जगत, कर्ण दाइ, तोयनाथ दाइहरुले पैसा कति लाग्छ ? भनी सोधिरहने गरेको उनले स्मरण गरिन् । काठमाडौंमा उपचारका लागि भौंतारिँदा र बेड नपाउँदा उनलाई धेरै तनाव भएको उनले बताइन् । उनले भनिन्, ‘मसँग झोलाभरि पैसा त हुन्थ्यो । लिएरै हिड्थे । तर टेन्सनले अस्पतालको भुइँमा छरिदिन मन लाग्थ्यो । जत्तिबेला पनि मेरै बुढासँग सबै डाक्टर आएर बसिदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।’ गत अप्रिल १० (चैत २८) मा नेपाल आएका सुनार दम्पती नेपालमा कोरोनासँग लडेर अब छिट्टै बेल्जियम फर्किने तयारीमा छन् । उनीहरु त्यहाँ व्यापार व्यवसायमा संलग्न रहेको बताउँछन् । उनीहरुका परिवारका २ छोरा र १ छोरी पनि उतै छन् ।

सुनार दम्पती ।

पोखरा–८, नागढुंगास्थित चरक मेमोरियल अस्पतालका अध्यक्ष डा. बद्री पौडेलले राजधानी काठमाडौंमा रहेको बिरामी चरक मेमोरियल भनेर विश्वास गरी आएको स्मरण गर्दै गम्भीर प्रकृतिका बिरामी केशव सुनारलाई निको बनाउन सकेकोमा खुसी व्यक्त गरे । उनले यो सबै चरकको सिंगो टिमले सम्भव भएको बताए । अझै पनि अस्पतालमा करिब ४०-४५ जना संक्रमितको उपचार भइरहेको जानकारी दिँदै उनले कोरोना संक्रमितको उपचारका लागि आफूहरुले थालेको प्रयासमा सन्तुष्टि रहेको बताए ।

‘केशव सुनार इमर्जेन्सीमा भर्ना हुँदा उहाँको फोक्सो सबै खराब थियो । सेतै भएको थियो । श्वास फेर्न पनि घिटिघिटिको अवस्था थियो,’ डा. पौडेलले भने, ‘तैपनि सबैको अथक मेहनतले निको गराउन सकियो । हामीहरुको कर्तब्य भनेकै बिरामी निको बनाउनु हो ।

उपचारमा संलग्न टिम एवं सम्पूर्ण चरम परिवारप्रति आभार व्यक्त गर्दछु ।’ उनका अनुसार बिरामीको सम्भावित अवस्थाको प्रेडिक्सनमा स्वास्थ्यकर्मीको टिम समेत चनाखो हुँदै जाँदा र्याङको ठ्याङ्ग मिल्न गएको हो । नभए यसखालको गम्भीर प्रकृतिको बिरामीलाई निको गराउन निकै गाह्रो विषय हो ।

कोरोनाको संक्रमणको आशंकामा धेरै बिरामीहरूले राम्रोसँग उपचार नपाएको सन्दर्भमा पोखराको चरक मेमोरियलले डेढ वर्षदेखि संक्रमित व्यक्तिहरूकै उपचार गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए । नाफाभन्दा पनि बिरामीको उपचारलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

बिरामीको उपचारमा अस्पतालका क्लीनिकल डाइरेक्टर समेत रहेकी डा. क्लारा, डा. किरण शर्मा, डा. पंकज बराल, डा. सुजन पोखरेल, डा. सन्देश पराजुली, डा. सन्दीप लामिछाने लगायतको टिम खटिएको थियो । बालरोग विशेषज्ञ समेत रहेका डा. किरण शर्माका अनुसार उहाँमा कोरोनासँगै निमोनिया देखिँदा फोक्सो बिग्रिसकेको र प्रतिमिनेट २० लिटरसम्म अक्सिजनको मात्रा दिनुपर्ने अवस्था रहेको स्मरण गरे । उपचार क्रममा लामो समयसम्म बेडमा सुतिरहेको मानिस अहिले यसरी हिड्न सकेको देख्दा आफुलाई खुसी लागेको उनको प्रतिक्रिया छ । अस्पताले आयोजना गरेको बिदाइ समारोहमा उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी लगायतले सुनार दम्पतीलाई खादा लगाई स्वस्थ्य जीवनको कामना गरेका थिए ।