भेरोसिलको दोस्रो डोज अभियान आजदेखि

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ साउन । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान साउन २४ सम्म सञ्चालन हुनेछ ।

काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

डा. खड्काका अनुसार असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका नागरिक १ लाख ६५ हजार छन् । असार २९ देखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।