कोरोना संक्रमित बढ्दै

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



उदयपुर, २२ साउन । जिल्लामा साउनको दोस्रो हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २ सय ५ मा झरेकामा तेस्रो हप्तामा आइपुग्दा ह्वात्तै बढेर ३ सय १५ पुगेको छ ।

एक हप्ताका बीचमा सङ्क्रमित १ सयभन्दा बढी भएका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए। लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि सङ्क्रमित बढिरहेको उनको भनाइ थियो।

घटेर शून्यको अबस्थामा झरिसकेको सङ्क्रमण एक हप्तामै पुनः तीव्ररूपमा बृद्धि हुन थालेकाले त्रियुगा–२को खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ सङ्क्रमित छन् ।

मालपोत कार्यालय, त्रियुगा र गाइघाटस्थित सिभिल बैङ्कका कर्मचारीमा समेत सङ्क्रमण देखिएकामा मालपोत भने एक हप्ताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ४३ पुगेकामा ३ सय १५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ ।