काठमाडौं, ३० साउन बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै रु तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही अघि बढाइएको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई आज काठमाडौँ ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
ललितपुर जिल्ला अदालतले विसं २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर) लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र रु सात लाख जरिवाना हुने ठहर गरेको थियो ।
उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुङ्गानाको संलग्नता रहेको खुल्न आएपश्चात् विसं २०७५ पुस ४ गते पक्राउ अनुमति लिइ खोजी शुरु गरिएको थियो । त्यसबेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न विसं २०७५ पुस १७ गते डिफ्युजन जारी भएको र उक्त डिफ्युजन २०७८ वैशाख ३१ गते रेड कर्नर नोटिसमा रुपान्तरण भएको थियो ।
खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी विसं २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको ‘नेशनल सेन्ट्रल ब्युरो’सँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी आज नेपाल ल्याइएको ब्युरोले जनाइएको छ । उनीसहित १२ जनाले काठमाडौँ र ललितपुरका बैंकमा सवारीसाधन सुरक्षणबापत बैंकका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप रु दुई करोड ७१ लाख ७६ हजार रकम लिएका थिए ।
बैंकको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैंकका नाममा नरहेको जानकारी आएको थियो । त्यसपश्चात् प्रतिवादीले बैंकलाई हानि नोक्सानी पु¥याउने कार्य गरेको देखिन आएकाले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न उक्त ब्युरोमा २०७५ मङ्सिर २१ गते जाहेरी परेको थियो । अनुसन्धानका क्रममा ढुङ्गानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात कीर्ते बनाई पेश गरेको खुल्न आएको थियो ।
उनीहरूले सरकारी छाप तथा दस्तखत कीर्ते कसुर शीर्षकमा काठमाडौँ जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी प्रतिवादी ढुङ्गानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र रु ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत, पाटनमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




