न्यादीको आईपीओमा आजदेखि आवेदन

-



     सफल आवाज    
     भाद्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ भदौ । न्यादी हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा ३ (साविक खुदी वडा १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी ६, ७ र ८ (साविक बाहुनडाँडा र साविक भुलभुले गाविसका वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको हो। बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको हो।

निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ। आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

साथै कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।