सर्वोत्तम सिमेन्टको शेयर खरिदमा मुछिएपछि सेबोनका संचालक ढकालले दिए राजिनामा

-



     सफल आवाज    
     भाद्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ भदौ । नेपाल धितोपत्र बोर्डका संचालक चन्द्रप्रसाद ढकालले बोर्डको संचालकबाट राजिनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिदका विषयमा ढकाल पनि मुछिएपछि उनले पदबाट राजिनामा दिएका हुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको राजिनामापछि महासंघको तर्फबाट बोर्डमा बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको प्रतिनिधित्व हुने भएको छ ।

संसदको अर्थ समितिको भदौ ४ गते बसेको बैठकले सर्वोत्तम सिमेन्टको शेयर खरिदका विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कारबाहि गर्न सिफारिस गरेको थियो । समितिले यस विषयमा अर्थ मन्त्री जनार्दन शर्मा, अर्थसचिवसंग बैठक बस्दा सांसदहरुले सेबोनका अध्यक्ष ढुंगाना, संचालक ढकाल तथा नेप्सेका साउदलाई निलम्वन गर्न र छानबिन गर्न माग गरेका थिए ।

यसअघि मंगलबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनुन्धानलाई सघाउन भन्दै पत्रकार सम्मेलन गरेर नैतिकताको आधारमा राजिनामा दिएको बताएका थिए । सेबोनका अध्यक्ष भिष्मराज ढुंगानाले आफुले गल्ति नगरेकोले राजिनामा नदिने बरु हटाए अदालत जाने बताईसकेका छन् ।