मेगा म्युचुअल फण्ड-१ मा पर्यो अहिलेसम्मकै उच्च आवेदन

-



     सफल आवाज    
     भाद्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ भदौं । मेगा क्यापिटलले निष्काशन तथा बिक्रीमा ल्याएको मेगा म्युचुअल फण्ड-१ मा परेको आवेदनले रेकर्ड ब्रेक गरेको छ । क्यापिटलले भदौ ४ गतेदेखि १० गतेसम्म बिक्रीमा ल्यएको उक्त फण्डको लागि परेको आवेदन अहिलेसम्मकै उच्च हो ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँको १० करोड इकाई निष्काशन तथा बिक्रीका लागि ल्याईएको हो । यसबाट १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको मेगा बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि जारि गरिएको हो ।

फण्डका लागि १ लाख ६३ हजार ६४६ आवेदनकले २० करोड १४ लाख ५५ हजार ६०० इकाईको खरिदका लागि आवेदन दिएका छन् । जो माग गरेको भन्दा २.३७ गुणा बढी हो । माग गरेभन्दा बढी आवेदन परेकोले नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार २५ प्रतिशत थपेर इकाईको बाँडफाँड गरिने भएको छ ।

नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सवै भन्दा धेरै आवेदन यस “मेगा म्युचुअल फण्ड–१” मा प्राप्त भएको छ । यो नयाँ कृतिमान् कायम गरेकोमा कम्पनी गौरवान्वित भएको जनाईएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडप्रति प्राप्त भएको विश्वासका कारण अझैं सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले मेगा म्युचुअल फण्ड–१ प्रति देखाएकाे विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्न क्रियाशील रहने विश्वास दिलाउन चाहन्छौँ भनेको छ ।