शेयर बजार सर्वत्र राताम्मै, कारोबार रकममा आयो भारी गिरावट

-



     सफल आवाज    
     भाद्र १५ गते २०७८ मा प्रकाशित




काठमाडौं, १५ भदौ । साताको तेश्रो दिन मंगलबार शेयर बजार राताम्मै भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । १३ वटै उपसमूहहरु राताम्मै हुँदा कारोबार रकममा पनि भारी गिरावट भएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा झरेको छ । नेप्से २.२७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १२.३४ अंकले घटेर ५५०.५२ विन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयरको खरिदबिक्रीबाट १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँ बराबरको करोबार भएको छ ।

सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्राेपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको हो ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनीको १ अर्ब १० करोड ५ लाख ७३ हजार ३८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।