शेयर बजार ओरालो यात्रामा, नेपाल राष्ट्र बैंकको १२ करोडको सीमालाई सहेन

-



     सफल आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ भदौ । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार राताम्मै भएको छ । १३ वटै उपसमूहको सूचकांक ऋणात्मक देखिएको छ भने कारोबार रकमले पनि लगानीकर्तामा उत्साह थप्न सकेन ।

बिहिबार नेप्सेमा भएको करेक्सनको प्रतिफल परिसूचक, सेन्सेटिभ इण्डेक्स, १३ वटै उपसमूहहरु र कारोबार घटेको छ । यो हुनुको कारण नेपाल राष्ट्र बैंकले तोकेको १२ करोडको सीमा नै हो । जसको कारण शेयर बजारमा गिरावट आएको हो । मौद्रिक नीति २०७८ तथा एकिकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेपछि बजारको लय भंग भएको छ ।

नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा झरेको छ । नेप्से १.६८ प्रतिशतले घट्दा सेन्सेटिभ इन्डेक्स ८.९० अंकले घटेर ५४१.७७ विन्दुमा झरेको छ ।

कुल २३० कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको अधारमा सबैभन्दा बढी आज पनि अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ४० लाख १२ हजार २९१ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।