ग्राण्डी अस्पतालमा रिंगटा उपचारका लागि क्लिनिक सञ्चालन

-



     सफल आवाज    
     भाद्र १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ भदौ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिंगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ । पछिल्लो समय धेरै मानिसमा रिंगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो ।

अस्पतालका प्रशासक हरि खड्काले रिंगटा लाग्ने आम व्यक्तिको समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिए। “ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार सेवा विस्तारै गर्दै लैजान्छ”, उनले भने । उक्त सेवा आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म लिन सकिने सो अस्पतालले जनाएको छ ।

क्लिनिकका रिंगटासम्बन्धी विशेषज्ञ धर्म डङ्गोलले अस्पतालको डाक्टरसँगको सहकार्यमा बिरामीको रोगको निधान गरेर रिंगटासम्बन्धी समस्या उपचार गरिने बताए । “कतिपय बिरामीले औषधि सेवन गरे पनि रोग निको नभई रहेको अवस्थामा रोगको निधान गरेर रोगको प्रकृति हेरेर औषधि र थेरापीका माध्यामबाट उपचार गर्छौं”, उनले भने । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालले हाल २०० श्ययामार्फत बिरामीको उपचार गराउँदै आएको छ ।