अर्थमन्त्री र गभर्नरको छलफलपछि नेप्से बढ्यो

-



     सफल आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ भदौ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक करिब ६ प्रतिशत बढेर बन्द भएको छ। मार्जिन कर्जामा १२ करोडको सीमाको त्रासले घटेको बजार यस दिन उच्च दरमा बढ्न थालेको हो।

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच टेलिफोन कुराकानीमा गभर्नरले आवश्यक प्रक्रिय मिलाई परिस्थिति सहज बनाउने समाचार बाहिरिएसँगै नेप्से उच्च दरमा बढेको हो।

सोमबार नेप्से परिसूचक ५.७४ प्रतिशत बढेर २९८०.७८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.०२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ११.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.४४ अंक बढेको छ। यस दिन २२४ कम्पनीको १ लाख ९ हजार पटकको कारोबारमा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से उच्च दरमा बढेको दिन ४२ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। कारोबारमा आएका २२४ कम्पनीमध्ये जम्मा ८ कम्पनीको मात्र शेयरमूल्य घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक, जलविद्युत र वित्त उपसमूहको परिसूचक ९ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ८.३८ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।