
काठमाडौं, ३० भदौ । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जानकारी दिए । उनका अनुसार हिम्ड टर्मिनल प्रालिले सातामा दुई दिन कार्गाे ढुवानी गर्ने जनाएको छ भने हिम्डसगैँ अन्य चार कम्पनीले समेत कार्गाे ढुवानीमा इच्छुक देखाएका छन् । उनले भने, “पहिलो पटक हिम्डले कार्गाे रेल सेवा सुरु गरेको छ । सो कार्गाेसँगै अन्य ४ कम्पनीले समेत कार्गाे ढुवानीमा इच्छुक देखिएका छन् ।
निजी क्षेत्रका कार्गाे रेललाई ढुवानी खुला गरेसगैँ अन्य कम्पनी बढ्ने अनुमान छ ।” रेल सेवा संशोधनपछि निजी कार्गाे नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिइएको थियो । १७ वर्षपछि भारतीय कन्टेनरको एकाधिकार तोड्दै गत असार २५ गते सम्झौता संशोधन गरिएको थियो । रेल सेवा संशोधनको करिब दुई महिना पश्चात पहिलो पटक निजी कार्गाे रेल वीरगन्जस्थित सुख्खा बन्दरगाहामा आएको हो ।
गत असार २५ गते रेल सेवा सम्झौता संशोधनमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरिएको थियो ।
नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकात हल्दियासम्म रेल सेवा दिनसक्ने गरी सम्झौता संशोधन गरिएको थियो । यस्तै, नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा विस्तार गर्दै जाने समेत सहमति गरिएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




