मासु पसललाई गुणस्तरमा ध्यान दिन आग्रह

-



     सफल आवाज    
     असाेज ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो ।

छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्दै आग्रह गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले गरेको आग्रहमा मासु व्यवसायी सहमत भएर फूलपातीको दिनबाट खसीको मासुको मूल्य तोक्ने जनाएका थिए । यस्तै, कुखुराका मासु व्यवसायीले दसैंमा रु तीन सयभन्दा बढी मूल्य नबढाउने जनाएका थिए ।

राष्ट्रिय मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्कीले विभागमा भएको छलफलका आधारमा मासुको मूल्य तोक्ने तयारी भएको जानकारी दिए । विभागले पहिलो पटक यसवर्षको चाडपर्वलाई ध्यानमा राख्दै उपत्यकामा सञ्चालित मासु पसलसँगै मार्टलाई दसैंका लागि सहुलियत रुपमा खाद्यान्न सामग्रीको बिक्री वितरण गर्न आग्रह गरेको छ ।

विभागले नेपाल उद्योेग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घलाई आप्mना सदस्य व्यवसायीलाई चाडपर्वमा सहुलियत रुपमा सामग्रीको बिक्री वितरण गर्न अनुरोध गरेको जनाएको छ । यसअघि नै विभागले तीन ठूला मार्टलाई आफ्रना बिक्री केन्द्रबाट चाडपर्वमा सहुलियत दरमा खाद्य पदार्थकोे बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

विभागमा सोमबार भएको छलफलमा भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायतका मार्टलाई सहुलियत रुपमा खाद्य पदार्थको बिक्री वितरण गर्न आग्रह गरेको हो । “सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै अन्य समयको तुलनामा चाडपर्वमा केही सहुलियत दिन हामीले आग्रह गरेका थियौ, छलफलमा सहभागी मार्टका सञ्चालकले व्यानरसहित छुट दिन सहमत भए”, प्रवक्ता सेढाइँले भने । उपत्यकामा बिगमार्टको ५७, सेल्सबेरीको २६ र भाटभटेनीको देशभर १९ वटा बिक्री काउन्टर सञ्चालनमा छन् ।

विभागले चार्डपर्वमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै तीव्र रुपमा बजार अनुगमनसँगै सरोकारबाला निकायसँग छलफल गर्दै आएको छ ।