विदेशी मुद्राको व्यवस्थापन गर्न राष्ट्र बैंकलाई तनाब, सटहीमा कडाइ गर्न निर्देशन

-



     सफल आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असोज । विदेशी मुद्रा सञ्चिती व्यवस्थापन गर्न समस्या देखिएको छ । बढ्दो आयातका कारण मुद्राको सञ्चिति घटेपछि राष्ट्र बैंकलाई तनाब भएको छ । ‘अहिले साच्चिकै तनाबमा छौं, निर्यात राम्रो हुन सकेको छैन’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘त्यहीँ भएर हामीले अमेरिकी डलर सटहीमा कडाइ गर्न बैंकहरुलाई भनेका छौं ।’

विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएका कारण केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले अधिकतम २ हजार डलरसम्म मात्र डलर सटही नगर्न भनेको हो । विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि निर्देशन दिएको छ ।

पासपोर्टको फोटोकपी राखेर मात्रै सटही सुविधा दिने गरिएको छ । तर बैंकले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा पनि बढी सटही सुविधा दिने गरेका छन् । अहिले विदेशी मुद्रा सञ्चिती निकै घटेकाले कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको छ ।

आर्थिक वर्ष २०७८–७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ९ महिना १० दिनको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पुग्ने राष्ट्र बैंकले जनाएको छ ।