आयो नेप्सेमा करेक्सन, कारोबार झर्यो ३ अर्बमा

-



     सफल आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असोज । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार ओरालो लागेको छ । तीन उपसमूहमा हरियो लाग्दा बाँकी १० वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । सूचकहरुको साथसाथै कारोबार रकममा पनि निकै गिरावट भएको छ ।

कुनै समय नेप्सेमा २१ अर्बको कारोबार भएको झझल्को यतिबेला लगानीकर्ताहरुलाई आईरहेको छ । यो रकम घटेर ३ अर्बसम्म आईपुगेको छ । छिटपुट दिन बाहेक राष्ट्र बैंकले १२ करोडको सिमा तोकेपछि ओरालो लागेको शेयर बजारमा कहिले सन्तुलन कायम हुने हो भविष्यले नै बताउला तर लगानीकर्ताहरुलाई भने निरास पक्कै बनाएको छ ।

नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा झरेको छ । नेप्से १.२२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ६.४१ अंकले घटेर ४९७.०५ विन्दुमा रहेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ७३ लाख २१ हजार १४ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यसदिन व्यापार उपसमूहतर्फ ३.९२ प्रतिशतले बृद्धि भएको छ । अन्यतर्फ ०.२७ प्रतिशत तथा म्युचुअल फण्डतर्फ ०.१९ प्रतिशत बृद्धि भएको छ । बाँकी रहेको १० वटै उपसमूहको शेयर घटेको छ ।

बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको १२ करोड ७ लाख ७ हजार ७८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।