नेप्सेमा हरियाली छाउँदा पनि कारोबार रकम न्यून

-



     आरजू विष्ट सल्यानी    
     असाेज १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले १२ करोडको सिमा तोकेदेखि असन्तुलित हुँदै आएको शेयर बजार साताको तेश्रो दिन मंगलबार भने बल्ल उकालो लागेको छ । नेप्सेमा भएकाे सकारात्मक परिवर्तनले लगानीकर्तामा उत्साह थपिएकाे छ ।

एकबाहेक १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स उपसमूह र विकास बैंक उपसमूहले आड दिएको पाईएको छ । कारोबार रकममा धेरै गिरावट देखिएको छ । कुनै समयमा २१ अर्बको कारोबार भएकोमा मंगलबार २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६४ विन्दुमा पुगेको छ । नेप्से १.६३ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ७.०४ अंकले बढेर ४९२.०२ विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । ५८ लाख ४२ हजार १३५ कित्ता शेरको खरिदबिक्रीबाट २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये व्यापार उपसमूहमा रातोे लागेको छ । यो समूहको शेयर घटेको छ । बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, अन्य र लगानी उपसमूहमा हरियाली छाएको छ । उनीहरु सबैकोे शेयर बढेको छ ।

सबैभन्दा बढी टेको लगाउने काम फाइनान्स उपसमूहले गरेको छ । यसदिन यो समूहको ८६.८९ अंकले अर्थात ४.१६ प्रतिशतले बृद्धि भएको छ । यसपछि विकास बैंक समूहले पनि सहारा दिएको छ । बैंकतर्फ ३.१२ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।